धनवैभवकी देवी लक्ष्मीपूजनकै दिन जन्मियौ, भनियो लक्ष्मीप्रसाद जनमाझमा ।
तर भित्री कुरो अर्कै पऱ्यो वास्तवमा चुरो भारतीका भयौ पुत्र साहित्याकाशको धुरो !!
नेपालीपन खोपेर 'मुनामदन' जन्मियो दिलभित्र पसी गर्दा सेवा संसार अन्मियो ।
महिना तीनको तिम्रो तपस्याबाट पूर्वको महाकाव्य मिल्यो प्यारो 'शाकुन्तल' सुरम्य भो !!
दसै दिन बसी धाराप्रवाहपूर्ण रूपमा 'सुलोचना' दियौ, देख्यौँ झोपडीमा तिमीकन ।
पारी 'पागल' मान्छेले राँची पनि पठाइयौ शिक्षामन्त्री भई भाषा - देशसेवा दुवै गऱ्यौ !!
पुस्तकालय खोलेर सजाय पाउने कवि ! अन्तर्राष्ट्रिय गोष्ठीमा देखायौ देशको छवि ।
पीडा क्यान्सरको खेपी मृत्युशय्या रुँगे पनि अथाह देशको माया गर्ने प्यारा महाकवि !
नेपाली मनमा छायौ सदा सर्वत्र देखियौ साहित्याकाशका चन्द्र ! श्रद्धाले यति लेखियौ !!!
