सलल सलल बग्ने मन्द हावा छरेर। सरस तल हिँडेकी बाघ झैँ चाल हेर। वनसँग मन खेल्दै केश सारा फिँजाई। सकल जग धरामा शेष आफ्नो बचाई।
अरुण र सुनकोशी साथमा साथ दिन्छन्। वरुणसहित सारा सप्त कोशी कहिन्छन्। वरपर छहराले काँधमा काँध हाली। समझसँग बगेकी छाल आफैँ समाली।
शिखरतिर अनेकौँ स्वच्छ झर्ना बचाई सकल जग समीक्षा श्रेय आफ्नो गराई । सुनन सुन सँगी हो ! ताल खोली विशेष नवसँग बह पोख्दै प्रश्न सोधी अनेक ।।
लहर किन उठेका छालमा चित्र कोर्दै। रमण सब गरेका दृश्य सारा बटुल्दै। घुमन घुम नदी हो ! नागबेली छ बाटो। सरम अब नमानी दृष्टि देऊ अनौठो।
समझसँग सुसाई प्राण हाली बगेछौ। सकल जग समेटी प्राण रक्षा गरेछौ। भन न भन सहेली ! के हुने हो धरामा। धुनसँग गति बोल्थ्यो गीतको अन्तरामा।
भर न भर नदी हो ! बाँझिए खेत मेरा मनुज किन बुझेनन् बात गर्दा इसारा। मुलुकभर नदी छन् पावनी निर्मलात्मा सतत नमन गर्दै चित्तमा राख्छु आस्था ।।
