दिनु के कविजी ! कुन शब्द भनूँ ? कुन फूल टिपी पदमा म छरूँ ? कविका गहना मणि हो हजुर । उपहार चढ्यो मनकै गजुर ।।१।।
कविता म पढूँ रसिला हँसिला कति लेख निबन्ध अहो ! गतिला । दिनरात खटी दिनुभो सबमा अति उच्च विचार सबै मनमा ।। २।।
सपनी बिपनीबिच नित्य रमी पिउँदै सिगरेट बगेछ मसी । रचना छ अथाह कहाँ म गनूँ ? जलसागरमा कसरी म तरूँ ?।। ३ ।।
रस काव्य चुसी मन हर्षित भो कति ज्ञान मिठो यसभित्र अहो ! म पढूँ कविता मन भन्छ सधैँ कविसाथ बसूँ मनबिम्बसँगै ।।४।।
किन मृत्यु छिटो ? तँ छुचो कलिको ! चिनिनस् कि कसो किन धूर्त भ’को ? कृति स्वर्णिमले जगमा महिमा अझ उच्च भएर बढोस् गरिमा ।।५।।
कति पागल हुन् भनियो सुनियो कति नास्तिक हुन् भनिँदै त थियो । कसरी कुन पुष्टि छ हे धरणी ? म त देख्दछु यी अति दिव्य मुनि ।।६।।
कृति जो छ, सबै धन हो सजियोस् ऋण तिर्न बढौँ भवदीप बलोस् । शुभ नाम अजम्मर होस् कविको अझ श्रेय बढोस् उनका छविको ।।७।।
